शुक्रबार , बैसाख १४, २०८१

Friday, April 26, 2024

काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन हुने

image

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने सम्बन्धमा सरोकार भएका पक्षसँग परामर्श गर्नुभएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले आज सरोकारवालासँग छलफल गर्नुभएको हो । मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदायात्राले पर्यटकको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताउनुभयो ।

सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिने जनाइएको छ ।

ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

दिवाकालीनका साथै रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्न लागिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सम्पदायात्राले स्थानीय बासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ । रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्न सम्पदा क्षेत्र उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफ्नो पर्यटन पुरुत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ ।

सम्बन्धित समाचार