शुक्रबार , बैसाख २१, २०८१

Friday, May 03, 2024

महिलाको योगदान इतिहासमा लेख्न जरुरी छ : मन्त्री शशी श्रेष्ठ

image

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अहिले अग्रजलाई सम्मान गर्न सके आगामी पुस्ताले पनि हामीलाई सम्झने बताउनुभएको छ । मानव अधिकारका लागि एकल महिलाको केन्द्रीय कार्यालय छहारी भवनमा आज आयोजना गरिएको अग्रज महिला सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले महिलाले गरेको महत्वपूर्ण योगदानलाई नसम्झिएका कारणले नै पुरुषको मात्र इतिहास लेखिएको र महिला पछाडि परेको बताउनुभयो ।

नेपाली महिलाले हिजोदेखि आजसम्म राज्य सञ्चालनमा, युद्धको क्रममा वा सामाजिक परिवर्तन तथा शिक्षाको क्षेत्रलगायत विभिन्न क्षेत्रमा पु¥याएको योगदान नेपाली इतिहासमा कहिले पनि लेखिएन । जस कारण नेपाली समाजमा महिलालाई सधैँ ओझेलमा पारिएको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले स्मरण गर्दै भन्नुभयो, “हाम्रो समाज भनेको सामन्तवादी समाज थियो, पुरुष प्रधान समाज थियो, त्यसैको कारणले गर्दा पुरुषका मात्र इतिहास लेखियो, महिलाको इतिहास लेखिएन । तर जति पनि सफल पुरुष हुनुहुन्छ उहाँहरू सफल हुनुमा महिलाको हात छ । त्यसैले अब ‘हिज स्टोरी’ मात्र होइन हामीले ‘हर स्टोरी’को सुरुआत गर्न आवश्यक छ ।”

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान समयमा व्यवस्था बदल्ने भन्दा पनि हामीमा भएको सोच विचार बदल्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले महिला हकहितका लागि विभिन्न सङ्घसंस्था स्थापना भए पनि व्यवहारमा लागू नभएको भन्दै ती संस्थाको भर नपरी महिला आफैँ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा सम्मानित हुनुभएकी समाजसेवी तथा साहित्यकार भद्राकुमारी घलेले राजनीतिक, सामाजिक, आर्थिकलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने अग्रज महिलालाई सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिला सृष्टिकर्ता भएका कारण महिलालाई सम्मान गर्नुपर्छ ।”

मानव अधिकारका लागि महिला एकल महिलाको संस्थापक अध्यक्ष लिली थापाले देशका लागि योगदान पु¥याउने हरेक महिलाको जिउँदो इतिहासलाई जीवन्त राख्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका अग्रज महिला ९२ वर्षीय भद्राकुमारी घलेसहित अन्य १२ जनालाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार